Short poems by Amar tyagee

मुक्तक..............

अमर त्यागी

सम्पत्ति र हैसियतमा अडिएको छ नातासम्बन्ध हाम्रो
नाफाघाटा कैफियतमा अडिएको छ नातासम्बन्घ हाम्रो
रंगीन टीका जमराको मूल्य चर्को हुन्छ यो दशैँतिहारमा
हो,देखावटी आडम्बरी नियतमा अडिएको छ नातालम्बन्ध हाम्रो !

------------------------------------------------------

....मेरो रोजाइ.......
जीवन के हो सोंच्दै छु अचेल
बाँच्नुको अर्थ खोज्दै छु अचेल
अरूको पीडा मेटाउन आफै
मेटिने बाटो रोज्दै छु अचेल

------------------------------------------------------------

सबै जान्नेबुझ्ने भए, कसैले कसैलाई नि गन्दैन हजुर !
सबै झूटैझूट बोल्छन्, सत्य कुरा कसैले नि भन्दैन हजुर !!
हो, प्रशासननै कमिसन र दलालीमा चल्न थालेपछि,
यो मुलुकमा घुसबिना कुनै पनि काम बन्दै बन्दैन हजुर !!!

-----------------------------------------------------------

बैंसमाधुर्यले मग्मगाएकी तिमी
प्रेमउन्मादमा डग्मगाएकी तिमी
लजाउँछ जून तिमीलाई हेरी
रूपसौन्दर्यले जग्मगाएकी तिमी

-------------------------------------------------------------

अन्तै बग्छ खेतको पानी साँधमा खुल्ला आली हुनाले
रुन्छन् घरका ढिकीजाँतो घ्याम्पोडालो खाली हुनाले
सधैं पीर, अभाव र सकसमा बाँचेका छौँ हामी
हाम्रा नेता नाइकेहरू चोर,फटाहा अनि जाली हुनाले