कविता
"नयाँ कविता"
कफिको कडा सुगन्धमा झुम्दैछु
क्याफिन घुलिसकेको छ स्नायु तन्त्रमा
मिडटाउनको यो व्यस्त सडकको कर्नरमा रहेको
स्टारबक्सको क्यापचिनो संगै म देखेजति
संसार चियाउँदैछु
यो झ्यालको शीशामा आफ्नै प्रतिबिम्ब चिरेर
बाहिर देख्दैछु
हातका नक्शाले डोर्याइएका नवपर्यटकहरू
तिनका आँखामा
अलिकति उत्साह
अलि अपरिचित गन्धको विस्मय
अनि अलिकति भिडको डर छ
जिपिएसद्वारा निर्देशित गाडीहरु
पछ्याइरहेका छन् राता हरिया सडकबत्ती
जसमा चालकहरुका जिन्दगीका ब्लुजहरु मिसिँदा
बनिदिएको छ
प्रारम्भिक रङ्गहरुका शहरी भ्रम
लेनमा बाँधिएका साइकलहरू
जसलाई हुँइक्याउँदै छन्
आधि जसलाई शहरको माया छ
आधि जसलाई आफ्नै
र छिटपुट अपवादहरू
अनि
कतै पुगी नै हाल्नुपर्ने थरिथरिका हतार बोकेका न्यूयोर्करहरू
जसका अवचेतन मनलाई थाहा छ
कता मोडिने हो
कुन ढोका कसरि खोल्ने हो
कुन ट्रेनमा चढ्ने अनि कहाँनिर झरेर
कता पुग्ने हो
अस्तव्यस्त देखिने सुल्झेका नवमानवहरु
फेरी कफीको घुट्कोले मलाई स्टारबक्स फर्काउँछ
अनि म एकटक घुर्छु मेरो अघि रहेको रित्तो पाना
खै के लेख्ने ?
नयाँ कविता?
कसरी कोर्ने?
लेखिएका लाखौँ, सुनिएका पढिएका हजारौंलाई
उछिनेर नयाँ शब्दहरु पन्नामा कसरि भर्ने ?
अनि म JFK नै नपसी
कहिले काठमाडौँका फल्चाहरुमा
पुगिदिन्छु र बाखँ सुन्न पलेटी कस्छु
कहिले प्राचीन पौराणिक समयसम्म
पुग्छु मिथहरु सापटी माग्न
कहिले क्रान्ति र आन्दोलनका अँध्यारा
दस्तावेज भित्र पस्छु त
कहिले कहिल्यै नपुगेको युरोपतिर आफ्ना
इच्छाहरु ब्याकप्याकमा लिएर भाग्न खोज्छु
थाकेर फर्की फेरी
यहि 6th Avenueको सडकपेटिमा
कुनै बखत र भखरै पनि हिँडेका गिन्सबर्ग र केरुवाकका
पदचाप र पुराना बिद्रोहमा
नयाँ प्रेरणा खोज्छु
तर उफ्फ़! अफसोस
पन्नामात्र भरिन्छ केरमेटले
खोजेर नभेटिने रैछ कविता
बुझ्न नखोज्दा नाखोज्दै न्युयोर्करले मात्र बुझ्ने दिव्यज्ञान जस्तै
मन्दिरका घण्ट जस्तो सुनिने काठमाडौँले मात्र बुझ्ने पीडाको भाषा जस्तै
कतै भित्रै लुकेर बस्ने रैछ कवितापनि
जो कुरेर बस्छ
निस्कनलाई आफ्नो समयमा
पोखिनलाइ आफ्नै उम्ल्याइमा
मैले कविता लेख्न कुर्नु बेकार रैछ
स्टारबक्स सिद्ध प्राप्ति गर्ने नयाँ तपोभूमिजस्तै देखिन्छ
र महान पुँजीवादी मुस्कानले मलाई बिदा गर्छ।
राजन महर्जन
न्यू योर्क, अमेरिका