कविता
"बदाम"
नीलो आकाश पछाडि देखिएको
त्यो मधुरो जून
तिमी हौ
जो सूर्यास्त पर्खिएर
अँधेरी रातलाई
रंगीन बनाउन कुरी बसेकी छौ
तिमीलाई भेटेदेखि
विद्यानाश,
मलाई घाम मन पर्न छोडेको छ
मलाई दिन मन पर्न छोडेको छ
म पनि रातको पर्खाइमा
बसिरहन्छु, बसिरहन्छु,
रंगीन बगैंचाभरि फुलेका फूलहरूमा
तिमी नै एक गुलाफ हौ
जो कॉडालाई साथमै लिएर बसेकी छौ
जसलाई, जहिले जहॉ सारे पनि सर्छौ,
मलाई
आफैलाई कॉडालाई घोचाउँदै
तिमीलाई स्पर्श गरेको दिनदेखि
कस्सम!
बारम्बार कॉडालाई
घोचाईरहन मन लागेको छ
मुलायम तिम्रो पातहरूमा
स्पर्श गरिरहन मन लागेको छ
कॉडा नभएका
अरू फूलहरू आजकल
खै ! कत्ति मन परेकै छैन,
घाम लागेको दिन
बगैंचामा गुलाफ नदेख्दा
म हरेक दिन
बदाम छोडाउने गर्छु ,
किन किन ! मलाई
पोटिलो बदाम छोडाउँदा
रंगीन रातहरूमा
तिमीसँग मात्तिए झैं लाग्छ,
बदामको बोक्रा छोडाई रहँदा
तिम्रै आवाज मनमा गुञ्जिरहन्छ - बदमाश !
बाहिरी बोक्राभित्रको भित्री मुलायम बोक्रा
सेतो बदामलाई ढाकेको
अर्को एक पातलो खोस्टा
त्यो खोस्टाभित्रको सेतो बदाम !
आहा !
म त्यो पातलो खोस्टा
दुई औंलाले बिस्तारै हटाउँछु
र सेता बदामलाई हेरिरहन्छु,
किन किन !
आजकल बदाम भेटुञ्जेल
काजु, किसमिस पटक्कै मन पर्दैन,
मैले, पारिलो घाममा तिमीलाई भेट्छु
हर मौसम हर याममा तिमीलाई भेट्छु
तिम्रो तनको यादले जब सताउँछ नि
हरेक पोटिलो बदाममा तिमीलाई भेट्छु ।
- आनन्द श्रेष्ठ
न्यूयोर्क , अमेरिका।