कविता
"परदेश र परदेशी"
देख्दा सुन्दर , छुट्टाउन नसक्ने रात दिन
मानौ सदाबहार दिपावली मनाईरहने शहर
सोही सुन्दर शहरको
ठूलो वल्डिनको एक अपार्टमेन्टभित्रको
एक्लो जिन्दगी
छट्पटी रहेछ प्रीयजनको
बेगिन्ती याद बोकेर ।
लाग्छ ,
दर्दभरी कहानिले लेखिएको
किताबको सुन्दर गाता जस्तो
परदेशको जिन्दगी
फिस्स देखावटी
एक चिम्म्टी उधारो मुस्कान
अधरमा भर्दै
पठाउछ संदेश
आफू कुशलमङ्गल हुनुको,
अनि
झर्नै लागेका आँसुका ढिकालाइ
आँखाको डिलमा रोख्दै
मनभरि रोएर
छाल जस्ता चहानालाई
समुन्द्र जस्तै मन बनाइ
समाधि लिनु छ
मन भित्रै कसैले नदेख्ने गरी ।
कहिले हराउँछ अतीतसँग
कहिले समाल्छ वर्तमान
कहिले चिन्तित भविष्यको
अनि अनेकन समस्याका झेलहरु
जसरी बेस्सरी अल्झिएको धागो
नचुडाली फुकाउने आशमा
बर्सौ सम्म अल्झिरहेछ
चिसोले चिन्तित मनहरुलाइ
बुनेर लगाइदिन सुइटर
अनि दिन
न्यानो जिन्दगी !
चारा लिन गएको आमा फर्कने आशमा
बसिरहेछ्न् बचेरा
आँखा तानिरहन्छन् निमेषमा
हेरिरहन्छ दोबाटो
अन्जान बिचरा
नचाहाँदा नचाहाँदै परदेशमा अल्झिएर रहन बाध्य
उ
समयको जंजिर फुकाउन सक्दैन
र अत्तालिन्छ, तड्पिन्छ, रुन्छ ,
अनि समाल्छ आफैलाइ
समयको पिंजडा भित्र
अनेक कहानीसँग
मनको भावनालाई सम्हाल्दै
एक परदेशी परदेशमा !
- कमला भण्डारी ढकाल
सत्यवती गाउँ पालिका गुल्मी
हाल इजरायल