AN INTERVIEW WITH DHRUBA K. SAPKOTA

Dhruba Sapkota

लघु-अन्तरवार्ता / "गफगाफ"

" जीवन भनेको एउटा बाध्यता हो , काल नआउन्जेल जसो तसो बाँच्नै पर्ने...."

नेपाली साहित्यको विकास र प्रसारको सन्दर्भ कोट्याउनु पर्दा नयाँ पुस्ताको पनि उत्तिकै भूमिका देखिन्छ | नेपालभित्र र नेपाल बाहिर रहेर नेपाली कविता फाँटमा अनवरत कलम चलाउने धेरै कवि र गजलकारहरु हुनुहुन्छ | उहाँहरुमध्य कतिपय सशक्त प्रतिभाहरु विविध कारणले चर्चामा आउन खोजेको देखिंदैन, मैले तिनै प्रतिभाहरुको खोजी गर्ने जमर्को अन्तर्गत छिमेकी राष्ट्र भारतमा जन्मेर नेपालको विराटनगरमा हुर्केको , बढेको र पढेको कवि ध्रुवकुमार सापकोटासँगको साक्षात्कार वहाँ कै सृजना मार्फत प्रस्तुत गर्दैछु |

कविता शिर्षक : “ म प्रेमको भवसागर - फेवा ताल हुँ ! ” कविता शिर्षक : “ - म कवि हुँ नि प्रिय ! ”
म सागर हैन
मेरो कुनै छाल छैन
मेरो कुनै तरंग छैन
मेरा निम्ती के औँशी
के चाँदनी रात
मेरो छातीमा ज्वारभाटा उठदैन
म सधैं एक नास -एउटै धुनमा
लम्पसार छु
तर म सुन्दर छु
त्यसैले त तिमी
मेरो छातीमा जलक्रिडा गर्छौ
म फेवा ताल हुँ !
म पहाड हैन
म हिमाल हैन
हिउँदमा जम्दिन
गर्मीमा पग्लिन्न
नदी बनेर सुसाउँदिन
बर्खा -भेल बनेर गड्गडाउँदिन
म सधैं उस्तै छु मूर्तिवत
तर पनि सुन्दर छु
त्यसैले त तिमी
मेरो एक नजरको निम्ती
लालयित हुन्छौ
म फेवा ताल हुँ !
मेरो सीरमा त्यो अनूपम सुन्दर
धौलागिरी मुस्कुराउँछ
मेरो छातीमा त्यो जलपरी
माछापुच्रे निधाउँछे
हरेक दिन झिस्मिसेमा
एक हुल मलेवाका बथानहरुले
मेरो आकाश ढाक्छन्
दिनभरीको थकान पछी
हरेक साँझ पंक्षिहरु
मेरो छाती माथि बाट
मेरो सेरोफेरोलाई रमणीय पार्दै
आफ्नो गुँड तर्फ फर्कन्छन्
अनि त तिमी रमाउँछौ
हरदम
मेरो नजिक आउन खोज्छौ
म फेवा ताल हुँ !
मेरो तलाउमा माझी दाईहारु
सूर्योदयको लालिमा सँगै
जाल हान्छन्
अनि प्रितीका लाखौं जोडीहरु
डुंगा खियाउँदै
प्रेमालाप गर्छन्
म प्रेमको भवसागर हुँ
म फेवा ताल हुँ !
कविता शिर्षक : “ - म कवि हुँ नि प्रिय ! ”
आकाशलाई तिम्रो पछेउरी भनेँ
बादललाई तिम्रो केश भनेँ
झरीलाई तिम्रा आँशु भनेँ
तिमीले किन बुझिनौ
म कवि हुँ नि प्रिय !
सागरलाई तिम्रो आँखा भनेँ
गुलाबलाई तिम्रो गाला भनेँ
गुराँसलाई तिम्रो सिउँदो भनेँ
जुनलाई तिम्रो मुहार भनेँ
तिमीले किन बुझिनौ
म कवि हुँ नि प्रिय !
हिमाललाई मैले शीर भनेँ
छातीलाई मैले भिर भनेँ
नदीलाई मेरो रगत भनेँ
देशलाई मेरो शरीर भनेँ
जब बेचियो हाम्रो नदी
बेचियो हाम्रो रगत भनेँ
अनि बेचियो जब देश
शरीर हाम्रो बेचियो भनेँ
स्वाभिमान हाम्रो बेचियो भनेँ
तिमीले किन बुझिनौ
म कवि हुँ नि प्रिय !
देशद्रोहीलाई स्याल भनेँ
शोषकलाई हुँडार भनेँ
भारदारलाई ब्वाँसो भनेँ
नेपालीलाई भेडा भनेँ
देश दुख्दा मेरो छाती दुख्यो
हिमाल रुँदा आसुँ बहाएँ
तिमीले किन बुझिनौ
म कवि हुँ नि प्रिय !
म शेली हुँ - सेक्स्पियर हुँ
म देवकोटा हुँ - गोपाल प्रसाद रिमाल हुँ
अनि म भुपी सेरचन हुँ
तिमीले किन बुझिनौ
म कवि हुँ नि प्रिय !

१. नेपाली साहित्यमा तपाईंको प्रवेश कहिलेदेखि र कसरि भयो ?
- खासै प्रवेश के भन्नु ! सानै देखी कथा - कविताहरु पढ्न, सुन्न मनपर्थ्यो । १४ बर्षको उमेरमा पहिलो पटक कथा लेखेको थिएँ । अनि १६ बर्ष को उमेर देखी कविगोष्ठीहरुमा भाग लिना थालेँ - कविता , मुक्तक , लघु कथा लेख्ने, सुनाउने गर्न थालेको हुँ

२. तपाईंलाइ साहित्यले किन आकर्षित गर्यो र कबिता विधा नै किन रोज्नु भयो ?
- साहित्य एउटा कला हो , कतिपय मानिसहरु कलाप्रेमी हुन्छन् , म फोटोग्रफर पनि हुँ - त्यो पनि एउटा कला हो , अर्थात म भित्र कलाप्रेमी प्रकृति रहेछ भन्नुपर्ला !

३. संचारसंजाल विकसित भएको आजको परिवेशमा नेपाली साहित्यको अवस्था कस्तो देख्नुहुन्छ ?
- नेपाली साहित्य पहिले भन्दा अझ फस्टाउँदै गएको देख्छु , मानिसहरुको साहित्य प्रतिको अभिरुची बढाएको छ संचारसंजालले !

४. आजको साहित्य कस्तो हुनुपर्छ भन्नेबारे तपाईंको के धारणा छ ?
- साहित्य त आज मात्र हैन , जहिले पनि उस्तै हुनु पर्छ , त्यो हो यथार्थपरक, समाजको बिसंगती माथिको प्रहार , प्रकृतिको चित्रण , सन्देशमुलक र सुन्दर !

५. गीत-संगीतमा पनि तपाईंको उत्तिकै रुचि छ, तर आफैले गुन्गुनाउंदा पुराना हिन्दी गीतहरु नै मन पराउनु भएको आभास हुन्छ - किन ?
- हामी नेपाली सानै देखी हिन्दी गीत सुन्दै हुर्केका हौं , हिन्दी गीत - संगीत - साहित्य धेरै उचो छ , यस्मा कसैको दुई मत हुन सक्दैन । मलाई हिन्दी र नेपाली संगीत दुबै उतिकै मन पर्छ । मलाई पूराना गीतहरु अहिलेका भन्दा स्तरिय लाग्छन् ।

६ . तपाईं कला, साहित्य र संगीतप्रेमी मान्छे ! र तपाईं फोटोग्राफीमा निकै पोख्त देखिनुहुन्छ, त्यसैको सिलसिलामा विभिन्न सुन्दर र अप्ठेरो स्थानहरुमा लामो यात्रा पनि गर्नुहुन्छ, त्यसबारे केहि रोचक जानकारी दिनुहुन्थ्यो कि ?

- खै कस्तो रोचक जानकारी दिउँ - यती मात्र भन्न सक्छु कि फोटोग्रफि त्यस्मा पनि प्रकृतिको फोटोग्रफि गर्न संसारका बिभिन्न ठाउँ जानु पर्छ , जाने गरेको छु , खर्चिलो छ , जोखिमपूर्ण छ , समय निकाल्नु पर्छ , तर यस्मा मजा छ , सौन्दर्य छ - आत्मसन्तुस्टी छ । जसरी एउटा राम्रो कविता लेखे पछि खुशी लाग्छ त्यस्तै एउटा राम्रो तस्वीर खिचे पछी खुशी लाग्छ मलाई ।

७. जीवन के हो जस्तो लाग्छ र त्यसको प्रयोजन केकालागी ?
- जीवन भनेको एउटा बाध्यता हो , काल नआउन्जेल जसो तसो बाँच्नै पर्ने , खुशी हुने कोशीस गर्ने - आफ्नो लागि होस् य समाज को लागि केही गरेर , यस्तो लाग्छ मलाई ।

Material extracted from " SUKSHMDRISHTI" WEEKLY, published date: July 21, 2017

Comments

Request: Please read and comment